काठमाडौं । नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित चार मन्त्रालय पाउने भएको छ ।
बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित चार मन्त्रालय दिने निर्णय भएको हो ।
सत्ता गठबन्धनमा गत वर्षको माघ ३ गते गरिएको भागबन्डालाई आधार बनाएर पावर सेयरिङ गर्ने गृहकार्य शुरू भएको स्रोतले बतायो ।
स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने तीन मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।
नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो।
जसअनुसार रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए । तर, छोटै समयमा बाहिरनु परेको थियो ।
रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको थियो । तर, नेकपा एसलाई पनि समेट्नुपर्ने भएकाले अहिले ३ मन्त्रालय पाएको हो ।
Leave a Reply