काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन बन्नु र तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको टिप्पणी गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो सावित भएको बताए । यसमा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भन्दै उनले प्रश्न गरेका छन् ।
'राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर, हिजोको घटना सामान्य होइन,' उनले लेखेका छन्, 'कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँग गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो सावित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि रु भविष्यको लागि सजग बनौं ।'
सोमबार कांग्रेस सम्मिलित गठबन्धन तोडिएर एमाले र रास्वपासहित नयाँ गठबन्धन बनेको छ । जसमा सोमबार नै एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए ।