Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • क्यासिनो प्यालेसमा क्रिप्टोको समेत धन्दा, नौ जनाविरुद्ध मुद्दा दायर

    क्यासिनो प्यालेसमा क्रिप्टोको समेत धन्दा, नौ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा क्रिप्टो तथा अवैध विदेशी मुद्राको समेत कारोबार हुने गरेको खुलेको छ ।

    अनलाइन जुवा खुलाउने गरेको सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा हानी अनुसन्धान गर्दा करोडौँको अवैध कारोबार हुने गरेको खुलेको छ ।



    प्रहरीले क्यासिनोका सञ्चालक र कर्मचारी नौ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसारको कसुरमा बुधबार मुद्दा दायर भएको हो । क्रिप्टो र अवैध विदेशी मुद्राको कसुरमा पनि कारबाहीको माग दाबी लिइएको छ ।



    जिल्ला प्रहरी परिसर, काठमाडौंले एक महिनाअघि क्यासिनोमा छापा हानी कर्मचारीहरू ऋषव पावा, गुलाब सिंह र गौरव चोप्रालाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा सञ्चालककै मिलेमतोमा अनलाइन जुवादेखि क्रिप्टोसम्मका कारोबार प्रष्ट भएको हो ।

    उनीहरु भारतीय नागरिक हुन् । उनीहरुले सञ्चालकहरुको निर्देशनमा आफूहरूले अनलाइन जुवा खेलाउने गरेको बयान दिएका छन् ।

    सोही आधारमा सो क्यासिनोका सञ्चालकहरू जनकपुरका विनय कुमार साह, भारतीयहरू तरुण खट्टेर, अशोक कुमार क्षेत्रपाल, बलदेवराज अरोरा, मुकेश गुलाटी र पानदुरांग नायकविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीहरूले एटलान्टिक रिक्रियशन प्रालि नामक कम्पनी दर्ता गरी त्यसमार्फत क्यासिनो चलाउँदै आएका थिए । क्यासिनोको अन्डरग्राउन्डमा गोप्य रूपमा अनलाइन जुवा खेलाउँदै आएका थिए । रोमानियाको इजुगी कम्पनीले बनाएको सफ्टवेयरमार्फत उनीहरुले जुवा खेलाउने गरेका हुन् ।

    करिब एक करोड रुपैयाँ समेत त्यहाँबाट प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरूको मोबाइलमा क्रिप्टो कारोबार गर्ने फाइनान्स एप समेत भेटिएको छ ।

    मोबाइलको परीक्षण रिपोर्ट नआएकाले कारोबार प्रष्ट हुन सकेको छैन । साथै, सो क्यासिनाले राष्ट्र बैंकबाट अनुमति नै नलिई वैदेशिक मुद्राको कारोबार समेत गर्दै आएको प्रहरी दाबी छ ।

    यो मुद्दाको अनुसन्धानमा समेत व्यापक चलखेल भएको स्रोत बताउँछ । सञ्चालकलाई मुद्दा दायर नगर्न केही समूहले प्रहरीलाई आर्थिक प्रस्ताव गरेका थिए । तर, प्रहरीले मुद्दा दायर गरेको छ । तर, उनीहरूको अवैध कारोबारमाथि विस्तृत अनुसन्धान हुन सकेको छैन ।

    उनीहरु करोडौँको क्रिप्टो कारोबार गर्ने र अवैध पैसालाई शुद्धीकरण गर्ने धन्दामा संलग्न रहेकोमा त्यसतर्फ गहन अनुसन्धान हुन सकेको छैन । जस कारण मुद्दा कमजोर बनाउन केही प्रहरीले सहयोग गरेको प्रहरी स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार