Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दाका ७७ प्रतिशत अभियुक्त पक्राउ

काठमाडौं । सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्य बहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परेका हुन् ।

उनलाई अंश सम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्‍वसहित जन्मकैद फैसला गरेको थियो ।

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंजका ५५ वर्षीय मोहमद् हाफिम खाँ १४ वर्षपछि मंसिर २० गते पक्राउ परे । उनलाई २०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो । दवाडी र खाँ प्रतिनिधि पात्र मात्रै हुन् ।

उनीहरू जस्तै कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी छ । नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेको कारण यस्ता अपराधी पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न ५ सय २९ जनामध्ये ४ सय ६ जना पक्राउ परेका छन् । जसमध्ये पुरूष ३ सय ६० जना र महिला ४६ जना छन् । तीमध्ये ७ जना पुरूष र १ जना महिला विदेशी हुन् ।

जम्मा पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत २२ जना, कोशी प्रदेशमा ८५ जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३२ जना, लुम्बिनी प्रदेशमा ७९ जना, कर्णाली प्रदेशमा ४९ जना र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका छन् ।

तथ्याङ्क विश्लेषण गर्दा चालू आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्तहरू प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको देखिन्छ । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जान्छ ।

आर्थिक वर्ष २०७९/०८० मा ७८ प्रतिशत, आर्थिक वर्ष २०७८/०७९ मा ७७ प्रतिशत, आर्थिक वर्ष २०७७र०७८ मा ७५ प्रतिशत, आर्थिक वर्ष २०७६/०७७ मा ८१ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६ मा ८२ प्रतिशत अभियुक्तहरू पक्राउ गर्न सफल भएको थियो ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्तहरू पक्राउ परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077