काठमाडौं । काठमाडौंको स्वयम्भुमा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरव टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।
आज विहान भैरवटोलस्थित बद्री चापागाईंको घरको डेरामा प्रहरीले तीनै जनाको शव फेला पारेको थियो । घरको कोठामा तीन जनाको शव भेटिनु र श्रीमान बेपत्ता हुनुमा प्रहरीले श्रीमानले नै हत्या गरेकार फरार भएको आशंका गरेको थियो ।
तर, घटनाले अर्कै मोड लियो, जब प्रहरीले फरार भनेका श्रीमानलाई पनि झुण्डिएको अवस्थामा फेला पार्यो ।
ईश्वरीका श्रीमान राजु घिमिरे (सुनार) काे घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । राजु नागार्जुन नगरपालिका–३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उक्त स्थान उनको डेराबाट करिब दुई किलोमिटर पर फेला परेको छ।
घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्पर्क गरेका थिए।
राजुले सालोलाई ‘मैले सबैलाई मारेँ, अब म पनि मर्छु’ भनेपछि सालोले नै प्रहरीलाई खबर गरेको ती अधिकृत बताउँछन् ।
यसरी एकै परिवारका चारै जना मृत फेला परे पनि घटनाको कारणबारे भने खुलिसकेको छैन।
मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Leave a Reply