काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानूनमन्त्री धनराज गुरुङले क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताएका छन् ।
पार्टीको महासमिति बैठकमा बोल्ने क्रममा सरकारका मन्त्रीसमेत रहेका गुरुङले क्रोनी क्यापिटालिजमले बाटो पहिल्याउन नसकिरहेका बताए । उनले भने–‘नेताहरु व्यापारी जस्ता देखिए । व्यापारी कतै नेताहरु जस्ता देखिए ।’
क्रोनी क्यापिटालिजम कै कारणले आर्थिक सुशासन कायम गर्न नसकिएको उनको दाबी थियो । आर्थिक अवस्थाले विस्तारै लय समातेको दाबी गरेका गुरुङले क्रोनी क्यापिटालिजमविरुद्ध महासमिति बैठक एकवद्ध हुनुपर्ने बताए ।
महासमिति बैठकले भुइँ मानिसका बारेमा सोच्नुपर्ने पनि उनले बताए । फेदमा बसेकालाई टुप्पोमा बसेकासँग दाँजेर पार्टीले नीति लिनुपर्ने गुरुङको सुझाव छ ।
उनले भने–‘फेदमा बसेकाले मलजल गरिरहेका हुन्छन् । टुप्पोमा हुनेहरुले फल खाइरहेका हुन्छन् । त्यसलाई पनि एउटा तादाम्यता मिलाउन पर्छ कि पर्दैन ?’
फेदमा बसेर मलजल गरिरहने एकाथरि र टुप्पोमा बसेर फल खाइरहने अर्को पक्षका बारेमा यो महासमिति बैठकमा छलफल हुनुपर्ने उनले बताए ।
बैठकमा उनले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताए । उनले भने–‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ ।’
पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने बताएका उनले पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने बताए। उनले बैठकमा पेश गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिए।
Leave a Reply