Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार मुद्दा लागेपछि भीम उपाध्याय भन्छन् - शाकाहारीबाहेक खाएको छैन, अदालतमा उपस्थित हुन्छु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले कुनै पनि प्रकारको अनियमितता नगरेको दाबी गरेका छन् ।

आइतबार अख्तियारले खानेपानी मन्त्रालयका तत्कालीन तीन सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा तत्कालीन सचिव उपाध्याय पनि छन् । आयोगले उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो माग दाबी गरेको छ ।

तर पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै शुभचिन्तकहरूलाई विचलित नहुन सुझाव दिएका हुन् । उनले लेखेका छन्, 'म ३ करोड नेपालीका सामु ढुक्कसँग भन्छु - मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुँदैन, त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून् । मिटिङमा चिया-खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन ।'

साथै उनले आफूविरुद्ध दायर भ्रष्टाचार मुद्दामा स्वदेश फर्कनासाथ अदालतमा उपस्थित हुने बताएका छन् । 'रिटायर भएको नै अहिले ६ वर्ष बितिसकेको छ। खैर विशेष अदालतमा मुद्दा परिसकेको छ। विषय प्राविधिक बनेको छ। बदनियत नभई फौजदारी कसुर प्रमाणित हुने कुरा पनि हुँदैन। स्वदेश फर्कनासाथ अदालतमा आफ्नो सफाइका लागि उपस्थित हुने नै छु। मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिलेकाहीँ भाइरस लागेर रुघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ। मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन,' उनले लेखेका छन् ।

उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्रकारको अनियमितता नभएको दाबी उनको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077