Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि पोखे, कोशीमा सरकार बनाउँदाको असर राष्ट्रिय सभा निर्वाचनमा देखियो'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा पार्टीभित्र द्वन्द्व सिर्जना भएको दावी गरेका छन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश गर्दै शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी समेत गरेका छन् ।

बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले कांग्रेसप्रति असन्तुष्टि देखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

गठबन्धनबाट १८ जना देशभर निर्वाचित हुँदा माओवादी केन्द्रको उम्मेदवार चम्पादेवी कार्की मात्रै कोशीमा पराजित भएकी थिइन् । शर्माले प्रतिवेदनमा लेखेका छन्–‘यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ।’

नेता डा. शेखर कोइराला पक्षधरले नेकपा एमालेसँग मिलेर कोशीमा सरकार बनाएपछि कांग्रेसभित्र विवाद भएको थियो । एमालेको समर्थनमा कोइराला निकट प्रदेश सांसद केदार कार्कीले मुख्यमन्त्री बनेका छन् ।

कांग्रेस र माओवादीबीच कोशीको मुख्यमन्त्री माओवादी केन्द्रबाट बनाउने सहमति भएको थियो । त्यसको विरुद्धमा कोइराला पक्षका सांसद उत्रिएका थिए । सभापति शेरबहादुर देउवा र दुई महामन्त्री माओवादीलाई मुख्यमन्त्री दिन तयार रहेको भन्दै कोइराला पक्षधर रुष्ट बनेको थियो ।

पार्टीभित्र देखिएको उक्त विवादलाई महामन्त्री शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले भनेका छन्–‘सरकार गठनका लागि आह्वान भएपछि कोशीमा जेजस्तो घटनाक्रम विकसित भयो त्यसले कांग्रेसभित्रनै द्वन्द्व सृजना भएको थियो । माओवादी पार्टीसँग त्यसबेला कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको छ ।’

गठबन्धनको सरकार पाँच बर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वास कायम हुने पर्ने शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077