कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिङसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१९ पुरनचौर घर भई नयाँ बजारमा बस्दै आएका २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुङ्गा बस्ने २५ वर्षीय सुजन गिरी र सोही ठाउँका २९ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।
पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको ‘ब्लु होम डेकोर’ नाम गरेको पसलमा विभिन्न सरकारी कार्यालयहरू, वडा कार्यालयहरू समेतका छापहरू तथा जङ्गली जनावर जरायोको सिङसहित उनीहरू पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।
सरकारी कार्यालयसहित विभिन्न सङ्घ संस्थाका नक्कली छापहरू प्रयोग भइरहेको र जङ्गली जनावरका अङ्ग समेत राखेको भन्ने गोप्य सूचनाको आधारमा फागुन २ गते साँझ वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट सरकारी कार्यालयका छाप, वडा कार्यालयका छाप, सङ्घ संस्थाका छाप तथा विभिन्न व्यक्तिको नाममा रहेका २४ थान छापहरू र जरायोको जस्तो देखिने सिङ दुई थान बरामद भएको छ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।
Leave a Reply