Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गरगहना र जग्गाको कारोबार देखाई झण्डै ८ करोड ठगी गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । प्रहरीले विदेशमा सुनका गहना पठाउने भन्दै ७ करोड ७७ लाख रुपैयाँ ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु गाउँपालिका–३ का ३३ वर्षीय कुमार थापा, स्याङ्जाको पुतलीबजार नगरपालिका–४ की ४२ वर्षीया मीना दमै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ का ४३ वर्षीया रविन कुमार थापा र सप्तरीको सप्तकोशी नगरपालिका–६ का ३९ वर्षीया दिलिप कुमार लाभलाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार कुमारमाथि २ करोड रुपैयाँ ठगी गरेको आरोप छ भने मिनाले ३ करोड ६५ लाख रुपैयाँ बैकिङ कसूर र ठगी गरेको आरोप छ । त्यसैगरी रवीनकुमारले २ करोड ६० लाख रुपैयाँ र दिलीपकुमारले ११ लाख रुपैयाँ ठगी गरेको अरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले समूह बनाई सुनका गरगहना, गाडी र जग्गाको कारोबार देखाई विश्वासमा पार्ने र ठगी गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार काभ्रेका कुमार थापाले सुनका गरगहना विदेशमा निर्यात गर्दैछौं भनेर पोखराका एक सुनचाँदी व्यवसायीसँग पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख र तेस्रो पटक ३० लाखको गहना खरिद गरेका थिए ।

यसरी ठूलो मात्रामा सुन खरिद गरेर वीरेन्द्रलाई विश्वासमा पारेपछि चौथो पटक १ करोड ८० लाख रुपैयाँको चेक दिई सोही मूल्यको गहना लिएर कुमार फरार भएका थिए । कुमार फरार भएपछि वीरेन्द्र उनको खोजीमा पोखरादेखि काठमाडौंसम्मै सयौंपटक धाए । तर, फेला पार्न सकेनन् । कुमारले दिएको चेक बाउन्स गरेर प्रहरीकहाँ पुगे । मुद्दा अदालत पुग्यो । तर, उनी पक्राउ परेनन् ।

जिल्ला अदालत कास्कीले दुई करोड रुपैयाँ बिगो र सोहीअनुसारको जरिबानासहितको आदेश गर्‍यो । त्यतिबेलासम्म पनि कुमार फरार नै थिए । तर, आइतबार भने कुमारलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । कुमारलाई उपत्यका प्रहरी कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको समूहले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।

अनुसन्धानमा खटिएका पन्थीले कुमारमाथि थप केरकार गर्दा उनी ठगी गर्नकै लागि पोखरा पुगेको र आफ्नो ठगी धन्दा चलाउन मिना दमाईलाईसमेत प्रयोग गर्ने गरेको खुल्यो । डिएसपी पन्थीका अनुसार ठगी धन्दा चलाउनकै लागि कुमारले मिना बाहेक रविनकुमार थापा र दिलिप कुमार लाभसहितको समूह नै बनाएका थिए ।

डिएसपी पन्थी भन्छन्–‘हामीलाई कुमार पक्राउ गर्नेमात्रै अनुमति थियो । तर, कुमारसँगको बयानपछि थप मानिसको संलग्नता देखियो । शंस्कास्पद मीना दमाईसहितका आपराधिक रेकर्ड छ कि छैन भनेर हेर्दा त हामी चकित पर्‍यौं ।

उनका अनुसार मीना दमाईमाथि बैंकिङ कसुर तथा ठगी अरोपमै कास्की अदालतले तीन करोड ६५ लाख ५९ हजार बिगो तोकेको खुलेको हो । त्यस्तै थप ९ वटा ठगी मुद्दामा फरार देखिएको छ । त्यस्तै रविनविरुद्ध काठमाडौं जिल्ला अदालतले दुई करोड ६० लाख र अन्य सातवटा मुद्दामा फरार रहेको खुलेको हो ।

त्यस्तै दिलिपकुमार लाभले भक्तपुरको सुडालमा अरुको नाममा रहेको १२ आना जग्गा दिलाइदिने भनी परिवार अटो मोवाइलका सञ्चालकसँग ३ वटा गाडी र २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको खुलेको डिएसपी पन्थीले बताए ।

यसरी परिवार अटोमोवाइल प्रालिबाट लिएको गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकामा रकम नतिरी बेपत्ता भएका थिए । यो समूहले चितवनमा पनि अरु व्यवसायीहरुको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको थियो ।

कुमार थापाले धेरै कारोबार मीना दमैको नामबाट गर्ने गरेको पाइएको छ । उनले महिलाको नाममा कारोबार गर्दा विश्वासमा पार्न सजिलो हुने भएकाले त्यो उपाय लगाएको देखिएको डिएसपी पन्थीकाे भनाइ छ ।

रविनकुमार थापाविरुद्ध चितवनमा ४ वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता भएको पाइएको छ । उनीहरुबाट करिब ७ करोड रुपैयाँ ठगी भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077