काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्समाथि शानदार प्रदर्शन गरेकी रुबिना क्षेत्रीले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् ।
उनले माल्दिभ्ससँगको आजको खेलमा शतकसहित ३ विकेट लिएकी थिइन् । रुविनाको उत्कृष्ठ खेलसँगै नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकालेको थियो ।
टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३.५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् ।
माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी थिइन् ।
अवार्ड हात पारेपछि उनले भनिन्–‘मेरो यो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु ।’
खेल भएको मलेसियाको बाङ्कीको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो । त्यो गर्मीमा पनि रुबिना र नट आउट ५९ रन बनाएकी पूजा महतो फिट देखिएका थिए ।
अभ्यासका क्रममा फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको रुबिनाले बताइन् । ‘हामीले फिटनेसमा निकै काम गरेका थियौं । यसको क्रेडिट हाम्रो सर्पोट स्टाफलाई पनि जान्छ ।’