Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पर्वहरू कुनै खास जाति वा समुदाय विशेषका होइन, सिङ्गो राष्ट्रका साझा हुन् : प्रधानमन्त्री प्रचण्ड

    पर्वहरू कुनै खास जाति वा समुदाय विशेषका होइन, सिङ्गो राष्ट्रका साझा हुन् : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 600
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् ।

    सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताए ।



    संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।



    उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरेका छन् ।

    ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

    श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् ।

    यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व रहेको उनको भनाइ छ । साथै प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार