तनहुँ । तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल राना रहेका छन् ।
आइतबार बेलुका ८ः५० बजे आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र.३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि आबुखैरेनी अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्रकका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।