Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने मुछिएको सहकारी ठगीका नाइके जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीका नाइके जीबी (गितेन्द्रबाबु) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध शुक्रबार डिफ्युजन नोटिस जारी भएको हो ।

जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन् । रास्वपाका सभापति लामिछाने र राईले ग्यालेक्सी फोर–के टेलिभिजनमा व्यापारिक साझेदारी गरेका थिए ।

सहकारीको रकम लामिछानेको खातामा ट्रान्सफर भएको थियो । लामिछानेले आफ्नो नामको १५ प्रतिशत शेयर उनै राईलाई बिक्री गरेको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डमा उल्लेख छ ।

सोही विषयमा तथा सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राइविरुद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई गत पुस ५ गते पत्राचार गरेकोमा शुक्रबार डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनको खोजी गर्ने र फेला परेको बेला नेपाल फर्काउने प्रक्रिया सुरु गर्नेछन् ।

उनीसहितका व्यक्तिमाथि कास्कीमा मात्रै १९ हजार भन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति फरार छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077