Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • थुनुवा भगाउन करोडबाट ‘डिल’, छ लाख बुझेर भगाए

    थुनुवा भगाउन करोडबाट ‘डिल’, छ लाख बुझेर भगाए

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन प्रहरीले एक करोडबाट ‘डिल’ गरी ६ लाख २५ हजार रुपैयाँ रकम बुझेको पाइएको छ ।

    १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक करोड मागेका र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार रुपैयाँ लिएर थुनुवालाई भगाएको खुलेको हो ।



    घटना २०६४ साल जेठको हो । नयाँ बानेश्वरबाट पक्राउ परी लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौं प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए ।



    उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भई काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गएको बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो ।

    काठमाडौं ल्याएर उनीमाथि अनुसन्धान थालिएको सो कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरी ‘इन्स्पेक्टर सापले बोलाउनुभएको छ’ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएको अनुसन्धानका क्रममा खुलेको रेग्मीले बताए । उनले प्रतिवादीलाई हिरासतबाट निकाली कालीमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्‍याएका थिए ।

    प्राप्त रकमले उनले भारतको कोलकातामा दुई ट्याक्सी खरिद गरी चलाएका थिए । अहिले उनीसँग नौ ट्याक्सी रहेको खुलेको छ । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत बनाएको खुलेको जनाइएको छ । पछिल्लो समय उनी कोलकातामै श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।

    उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाहीका निम्ति शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । परिसरले आवश्यक अनुसन्धान थालेको जनाइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार