काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो।
भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले चीनबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए। उनले नक्सालस्थित ‘वी केयर’ मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ।
टिचिङ अस्पतालमासमेत काम गरेको भन्दै उनले काठमाडौंका विभिन्न क्लिनिकमा उपचार गर्ने गरेको बताइएको छ । शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर डा. एस भट्ट आचार्यको नामबाट ठगिरहेको बताइएको छ ।
प्रहरीका अनुसार भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् । त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।
Leave a Reply