अछाम । इलाका प्रहरी कार्यालय कमलबजारले घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस्ने अभियान तीव्र पारेको छ । प्रहरीले हालसम्म दुई हजार ६ सय स्टिकर टाँस गरेको हो ।
प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको शीघ्र सूचना प्राप्त गर्न र नागरिक प्रहरीबीचको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गर्न लागिएको हो ।
सोमबार मात्रै कमलबजार नगपालिका वडा नम्बर ८ ढाकुको टोलहरूको १३६ घरहरूमा र वडा नम्बर ६ को टोलहरूको २०० वटा घरहरूमा गरी थप ३३६ वटा घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गरिएको इलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।
सो कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र जोहारीका अनुसार अहिलेसम्म कमलबजार नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ७, ८ र १० का घरहरूमा २६०० स्टिकर टाँस गरिएको छ । भौगोलिक हिसाबले दुर्गम अनि जनता प्रहरी कहाँ आउन नमान्ने र प्रहरी घरघरमा पुगेको देख्दा जनताको कौतुहलतासँगै प्रहरी जनताको सेवक रहेछ भन्ने भावना जागृत हुने उनको विश्वास छ ।
साथै उनले जनताले प्रहरीलाई अपराधको सूचना सहज तरिकाले दिन सक्ने लगायतका फाइदा यो स्टिकरले गर्ने बताए । उनले भने, ‘प्रहरी देख्दा ओ हो गाउँ मा केही भयो कि भनेर सोच हुने रहेछ तर अहिले सधैँ प्रहरी गाउँमा घुमेको देखेर प्रहरी जनताको सेवाको लागि घुम्दो रहेछ भनेर जनताले भन्दै छन् ।’
साथै प्रहरी निरीक्षक जोहारीले स्टिकर टाँस्दा घर मुलीको नाम फोन नम्बर समेत टिपेर राख्ने गरेको बताए ।
‘स्टिकर लिएर घरमा पुग्दा ल्याउनु प्रहरी सर स्टिकर म भित्रै मेरो दराज भकारी वा मैले कहिल्यै नहराउने नच्यातिने ठाउँ मा राख्छु र रक्सी खाएर होहल्ला गर्ने मान्छे देखेकी फोन गर्छु भन्छन्,’ उनले भने । इलाका प्रहरी कार्यालय कमलबजारले गत पुस १८ गतेबाट यो अभियान सुरु गरेको थियो ।
Leave a Reply