काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो।
आउँदो माघ ५ र ६ गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगाण्डाको राजधानी कम्पाला जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि कम्पाला जानेछन्।
प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन् भने अन्य देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
असंलग्न आन्दोलनको शिखर सम्मेलनको थिम ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
माघ ५ गते नै प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीले शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।
Leave a Reply