काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल औषधि लिमिटेडलाई औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन्।
छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बीचमा चाहिँ ‘अपडाउन’ भएको मैले बुझें। औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईहरूले काम सुरू गर्नुस्। सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छु।’
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताए।
छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको बताए छ ।
Leave a Reply