काठमाडौं । नेकपा एकीकृत समाजवादीले यही माघ ११ हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन निर्देशन दिएको छ ।
पार्टीले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउन मातहतका प्रदेश, जिल्ला, क्षेत्र, वडा तथा पार्टी निकट जनवर्गीय सङ्गठनलाई क्रियाशील गराउन निर्देशन दिएको हो ।
सम्बन्धित भूगोलमा सम्बन्धित उम्मेदवारको पक्षमा मतदानका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पार्टी आबद्ध नेतालाई जिम्मेवारीसमेत दिइएको छ ।
पार्टीले गठबन्धनबाट प्राप्त गरेको दुई सिटमा कर्णाली प्रदेशबाट सावित्री मल्ल र बागमती प्रदेशबाट घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ ।
यसैबीच पार्टीको आसन्न विधान सम्मेलनका लागि पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाएको छ ।
विधान संशोधनबारे पार्टीको मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिम रूप दिइने जनाइएको छ ।