धनगढी । नागरिक उन्मुक्ति पार्टीले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ।
टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएपछि उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो ।
रेशम चौधरी नाउपाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि रञ्जिता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको नेताहरुले बताएका छन्।
पत्नीको असन्तुष्टि मात्र नभएर भविष्यमा आउनसक्ने कानुनी जटिलतालाई समेत ध्यानमा राखेर रेशमले पार्टीको विधान संशोधन गर्न लागेका हुन् ।
रञ्जिताले अध्यक्षमा दोहोरिने इच्छा राखे पनि रेशम चौधरीले मनोनयन दर्ता गरेपछि उनी महाधिवेशन स्थल छाडेर हिँडेकी थिइन् ।
नाउपाले प्रथम महाधिवेशनबाट अध्यक्षसहितका २७ पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ भने दुई उपाध्यक्षमा सहमतिको प्रयास जारी रहेको जनाएको छ ।