Online Nepal
  • शनिबार, २० पुष २०८१
  • भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न धनगढीमा अख्तियारको अन्तर्क्रिया

    भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न धनगढीमा अख्तियारको अन्तर्क्रिया

    अनलाइन नेपाल
  • बुधबार, १८ पुष २०८०
  • 774
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयोजनमा बुधबार धनगढीमा सो कार्यक्रम गरिएको हो ।

    आयोगका आयुक्त डा. हरि पौडेलको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको थियो ।



    उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सुशासन प्रवर्द्धन एवम् भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सार्वजनिक जवाफदेहिता वहन गर्दै कानुन सम्मत ढंगले कार्यसम्पादन गर्नुपर्ने बताए ।



    सो कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण गर्ने हामी सबैको अभिभारा भएको र सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका उल्लेखनीय रहेको बताए ।

    उनले प्रदेश सरकारले सुशासन प्रवर्द्धन गर्न भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको विषय व्यक्त गरे । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले जिम्मेवार र नयाँ सोच सहितको नागरिक समाज, निस्वार्थी र समर्पित राजनीतिज्ञ तथा सकारात्मक र कर्मयोगी कर्मचारीतन्त्रको सहकार्यबाट सुशासन कायम राख्न सकिने विषय उल्लेख गरे ।

    उक्त कार्यक्रममा अख्तियारका आयुक्त डा. पौडेलले सहभागिहरुले राखेको जिज्ञासालाई एकमुष्ट रुपमा सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न हामी सबैको साझा प्रतिवद्धता आवश्यक हुने कुरा औँल्याए । उनले निजी लाभ र स्वार्थमा नपरी सार्वजनिक हितका लागि काम गरेमा सुशासन प्रवर्द्धन हुने बताए ।

    कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सहसचिव रमेश कुमार के.सी.ले सहभागिहरुलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव इश्वरी प्रसाद अर्यालले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गरे ।

    उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय रामेश्वर चौधरी, कैलाली जिल्ला स्थित विभिन्‍न स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रदेश सचिवहरु र संघिय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार