काठमाडौं । चितवनको सहारा बचत र पोखराको सूर्यदर्शन सहकरीबाट दसौं करोड घोटाला गरेको बिषय सेलाउन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंकको रकम अपचलनमा पनि मुछिएका छन् ।
ती सहकारीबाट ५० हजार रुपैयाँभन्दा बढी सहकारी पीडितहरुको अर्बौं रुपैयाँ बचत हिनामिना भएको मुछिएपछि उनी विवादमा परेका थिए ।
सहकारी हिनामिना प्रकरणले लामिछानेलाई कहाँसम्म पुर्याउने हो त्यो त समयको गर्भमै छ । तर, उनै लामिछानेको जिम्मा जमानीमा केही बैंकबाट समेत करोडौँ रुपैयाँ ऋण अपचलन भएको अर्को तथ्य भेटिएको छ ।
ऋण अपचलनमा उनका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका उद्धव पौडेल, श्रीमती निकिता लामिछाने र सालो निरक पौडेल मुछिएका छन् । उनको परिवारले काठमाडौंका विभिन्न ३ वटा बैंकको करोडौं ऋण अपचलन गरेको खुलेको छ ।
उनीहरुले २० करोडभन्दा बढी ऋण अपचलन गरेको घटना राष्ट्रबैंकको समेत अनुसन्धानको बिषय बनेको छ । दुई वटा ‘क’ वर्गका बैंक र एउटा ‘ख’ वर्गको बैंकबाट करिब २० करोड रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य फेलापरेको हो ।
अनलाइन नेपाललाई प्राप्त प्रमाणअनुसार पछिल्लो समय उनीहरुले चावहिलस्थित गोपीकृष्ण कमर्स कम्प्लेक्स (जिकेसीसी) बनाउने नाममा ऋण अपचलन गरेको देखिन्छ । प्रभु बैंक, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकबाट रविको परिवारले ऋण अपचलन गरेको आरोप छ ।
उनीहरुले कुनै पनि बैंकलाई बुझाउनुपर्ने किस्ता तथा ब्याज बुझाएका छैनन् । जिकेसीसीका नाममा प्रभु बैंकबाट ८ करोडभन्दा बढी ऋण प्रवाह भएको छ । त्यस्तै सिद्धार्थ बैंकबाट १७ करोड ऋण प्रवाह भएको खुलेको छ भने कामना सेवा विकास बैंकबाट ५ करोडभन्दा बढी रकम प्रवाह भएको छ ।
ऋण लिएपछि बैंकलाई नियमित किस्ता तथा ब्याज नबुझाए पनि बैंकहरुले पौडेल परिवारको राजनीतिक प्रभावसँग डराएर सूचना निकाल्न समेत सकेका छैनन् ।
सिद्धार्थ बैंकले लामो समयदेखि ऋण थप्दै बसेको छ भने कामना सेवा बैंकले ब्याज र किस्ता रकम नपाएको बर्ष दिन पुग्न लाग्दा समेत पाउन सकेको छैन । सर्वसाधारणको बचतलाई राष्ट्रबैंकमा प्रोभिजनिङ गरेर बैंकले ठूलो बद्मासी गरेको छ ।
आश्चर्य त के छ भने सुशासनका चर्का कुरा गर्ने रवि लामिछानेको परिवार नै यो ऋण अपचलनमा मुछिएको छ । रास्वपाका सभापति लामिछाने नै यो ऋण अपचलनमा मुख्य दोषी रहेको बैंक स्रोत बताउँछ । उनकै अनुहारलाई मात्रै आधार मानेर बैंकहरुले यति धेरै ऋण दिएका हुन् ।
उनी जमानी बसेका कारण बैंकसमेत हच्किएका छन् । अन्य सर्वसाधारणको भए किस्ता नतिरेको ३ महिनामै पत्रिकामा सूचना निकालेर बद्नाम गर्न लागिपर्ने र धितो लिलाम गर्न तम्सिने बैंकहरु रवि र उनको ससुराली परिवार जोडिएको यो प्रकरणमा भने चुपचाप छन् ।
स्रोतका अनुसार उद्धवका छोरा निरक पौडेल समेत यो ऋण काण्डमा संलग्न छन् । उनले नै उक्त प्रोजेक्ट देखाएर बैंकहरुसँग ऋण लिएका थिए । प्रतिक्रियाका लागि निरकलाई पटक पटक सम्पर्क गर्ने कोसिस गरेका थियौं । तर, उनी सम्पर्कमा आउनै चाहेनन् ।
यस विषयमा प्रतिक्रिया लिन लामिछानेको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनले पनि फोन उठाएनन् । उनका पीए प्रकाश सिग्देललाई सम्पर्क गर्दा उनले दीपक बोहरालाई बुझ्न भन्दै बोहराको नम्बर दिए । बोहरालाई सम्पर्क गर्दा यो विषय उठाउने वित्तिकै तपाईंको नाम र मिडियाको नाम एसएमएस गर्नुस् हामी फोन गर्छौं भन्दै टार्ने काम गरे ।
निकिता पौडेललाई सम्पर्क गर्दा उनले भने उक्त कारोबार आफूले गरेको नभई भाइले गरेको बताइन् । भाइ बाहिर रहेका कारण सम्पर्क नभएको उनको भनाइ थियो । उनले आफूहरुले नियमित किस्ता र ब्याज बुझाएको समेत दाबी गरिन् । निकिताले कुनै पनि बैंकमा किस्ता बाँकी नरहेको दाबीसमेत गरेकी थिइन् ।
राष्ट्र बैंकलाई ढाँट्दै बैंक
बैंकहरुले राष्ट्र बैंकलाई समेत गुमराहमा राखेर रविको परिवारलाई पोस्दै आएको छ । सर्वसाधारणको बचत रकमलाई राष्ट्र बैंकमा प्रोभिजनिङ गर्दै आइरहेको छ । दुर्गा प्रसाइँको बाटोमा हिडेका रवि लामिछानेबारे राष्ट्रबैंक समेत मौन छ ।
यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टसँग प्रतिकृया लिन खोज्दा उनले लिखित रुपमा सूचना माग गर्न आग्रह गरे । ऋणीहरुले कति महिनासम्म आफूले ऋण लिएको बैंकमा निरन्तर किस्ता रकम नतिरे बैंकले लिलामीको प्रक्रिया सुरु गर्नुपर्छ ? भन्ने अनलाइन नेपालको प्रश्नमा उनले केस पढेपछिमात्रै भन्न सकिने बताए । उनले भने–‘केस के हो ? त्यसको डिटेलसहित लिखित सूचना माग गर्नुस्, हामी उपलब्ध गराउँछौं ।’