कैलाली । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहिद घोषणासहित विभिन्न माग राखेर सुदूरपश्चिममा पनि आन्दोलन सुरु भएको छ ।
आइतबार अपराह्न धनगढीमा मृतक वीरेन्द्रका आफन्तले विरोध प्रदर्शन गरेका हुन् । पीडितलाई न्याय दिनुपर्ने, मृतकहरूलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै विरोध प्रदर्शन गरिएको हो ।
मृतक वीरेन्द्रका हजुरबुवा पुष्प शाहले सरकारले मागहरू आज रातिसम्म सम्बोधन नगरे भोलिबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले सरकारले आफूहरूका मागहरू आज साँझसम्म सुनुवाइ नगरे भोलिबाट चक्का जामसहितका कार्यक्रम गर्ने बताए । यस्तै माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलन गरिरहने उनीहरूको भनाइ छ । मृतकका परिवारलाई क्षतिपूर्तिसँगै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गरिएको छ ।
आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडी मृतक शाहका आफन्तहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए । न्यायको माग गर्दै धनगढीको चौराहादेखि मुख्यमन्त्री कार्यालय सम्म प्रदर्शन गरिएको थियो ।
शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस कार्यालय अगाडि भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिकाका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
Leave a Reply