Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • बालकुमारी घटनाका पीडित परिवारले भेटे प्रधानमन्त्री, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

    बालकुमारी घटनाका पीडित परिवारले भेटे प्रधानमन्त्री, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 888
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

    प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।



    पीडित परिवारजनसँग प्रधानमन्त्री प्रचण्डले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताएका थिए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए ।

    “छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

    आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

    सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । सो घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली ९इपिएस० शाखाका प्रमुख निलम्बित भएका छन् ।

    यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।

    बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।

    भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका सङ्घीय सांसद्को पनि सहभागी थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार