मुगु । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा हुने सबै खाले अपराध निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले स्थानीय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउँदै त्यसका लागि नागरिकको जागरुपता पनि आवश्यक रहेको बताए । उनले भने,’प्रहरीभित्र पनि आन्तरिक सुदृढीकरण भइरहेको छ। एक दुई जना गलत व्यक्तिले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन। कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन।’
महानिरीक्षक कुवँरले प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानव अधिकारको संरक्षण लगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुन सफल भएको दाबी गरे ।
संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरू सुविधायुक्त निर्माण गरिएको छ।
Leave a Reply