काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ गिरोहको नेतृत्वमा भएको सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा सुस्ताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई सरकारले यसको जिम्मेवारी दिएको थियो ।
दोस्रो चरणको अनुसन्धान ब्यूरोको प्राथमिकतामा छैन, साथै पहिलो चरणमा मुद्दा दायर गरेका व्यक्तिहरुमध्ये फरारलाई पक्राउ गर्न चासो दिएको छैन । तस्करी गिरोहका केही मुख्य व्यक्तिहरु अझै फरार छन् । तस्करी नाइकेमध्ये एक जीवन चलाउनेलाई प्रहरीले भगाएको थियो ।
सुरुमा कागज गर्न बोलाई पछि मुद्दा चल्ने भएपछि प्रहरीका उच्च अधिकारीले नै सूचना दिएर उनलाई भगाएका थिए । चलाउनेलाई पक्राउ गर्न हाल प्रहरीले प्रयास नै गरेको छैन । चलाउने हाल दुवईमा बसेर धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ ।
गिरोहका नाइके दावा छिरिङसँग उनको निकटतम सम्बन्ध देखिएको थियो । दुईजनाबीच तस्करीको सुन बेच्नेदेखि हुन्डी कारोबारको विषयमा समेत बारम्बार कुराकानी भएको थियो । सिआइबीमा बोलाएर पनि उनलाई छाडिएको स्रोत बताउँछ । त्यस्तै, दावाकी श्रीमती अमला रोका पनि अझै फरार छन् ।
दावालाई पक्राउ गर्न जाँदा अमला घरमै थिइन् । उनलाई त्यसबेला पक्राउ गरिएन । अहिले माओवादी नेताहरूले नै उनलाई संरक्षण दिइरहेको स्रोत बताउँछ । साथै सो गिरोहसँग धेरै नेताहरुको सम्पर्क देखिएको छ । वर्षमान पुन, दिपेश पुन लगायतले त आर्थिक सहयोग नै लिँदै आएका थिए ।
सहसचिव झलकराम अधिकारीले पनि उन्मुक्ति पाइसकेका छन् । केही प्रहरी अधिकारीसहित उच्च पदस्थ व्यक्तिहरूको पनि गिरोहसँगको सम्पर्कको विषयमा पनि विस्तृत अनुसन्धान गरिएको छैन । गत ३१ भदौमा नै मुद्दा भने दायर भइसकेको छ ।
हाल सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी छानबिन गरिरहेको छ । सो आयोगले सिआइबीले भन्दा विस्तृत छानबिन गर्न सकेमा धेरै व्यक्तिहरु कानुनी दायरामा तानिने निश्चित छ ।
Leave a Reply