काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।
सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताए । प्रस्तावमाथिको छलफल मङ्गलबारको सचिवालय बैठकमा पनि जारी रहने बताइएको छ ।