काठमाडौं । नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा निकै तनावपूर्ण बनेको खेलमा वीरगञ्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले पराजित गरेको हो ।
इन्ज्युरी समयको आठौँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएको हो । खेलको पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा आशिष चापागाईँको गोलमा इलामले अग्रता लिएको थियो ।
खेलको ३३ औँ मिनेटमा वीरगञ्जका भिसोन गुरुङले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्ज्युरी समयको आठौँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई जिताए ।
यो जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा झरेको छ ।
Leave a Reply