कास्की । पोखरामा आइतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा-५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन् ।
पृथ्वीराजमार्गस्थित पोखरा-२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नंको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नंको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
Leave a Reply