हेटौंडा । गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्यप्रसाद निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन्। निश्चलको योजनामा सूर्यप्रसादको घरमा मंसिर १९ गते गोली प्रहार गरिएको थियो ।
गोली घरको भित्तामा लागेको थियो। गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ माग गरेका थिए ।
प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका-९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका-४ मा पौडेल डेरा लिएर बसेका थिए ।
लागूऔषधको समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन,लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाउने जनाएको छ ।
Leave a Reply