एजेन्सी। अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनको सुटिङमा घाइते भएका छन् ।
फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा अजय घाइते भएका हुन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो ।
यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ । निर्देशक रोहित शेट्टी र उनको टिमले हालै विले पार्लेमा फिल्मको सुटिङ गरेका थिए ।
त्यहाँ एक्सन सिनको सुट भइरहेको थियो । त्यही बेलामा अजयको आँखामा चोट लाग्यो । लडाइँको दृश्य सुटिङ भइरहेको बेलामा झुक्किएर अजयको अनुहारमा लाग्दा आँखामा चोट लागेको बताइएको छ ।
सुटिङबाट केही घण्टा ब्रेक लिएर अजयले चोटको उपचार गराएका थिए । यो बिचमा खलनायकको दृश्य सुट भएको थियो । आँखाको चोटको उपचार गरेर अजयले केही घण्टापछि सुटिङ पुनः सुचारु गरे ।
अजय सकेसम्म आफ्नो काममा कुनै असर पर्न दिँदैनन् । सिंघम अगेनमा स्टार कास्टको भिड छ । फिल्ममा अजयबाहेक करिना कपुर र दीपिका पादुकोण पनि छिन् । यसबाहेक रणवीर सिंह र अक्षय कुमार पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्ममा टाइगर श्रौफ पनि देखिनेछन् ।
Leave a Reply