काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार सरकारले दुर्गा प्रसाईंमाथि सरकारले अघोषित नजरबन्द गरेको र तीनकुनेमा कार्यक्रम गर्न नदिएपश्चात अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिए। उनले धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने दाबी गरे।
अध्यक्ष लिङ्देनले भने,‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन् र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्। धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफूलाई तत्काल सच्याओस् !’
प्रहरीको कडा सुरक्षा घेरामा रहेका मेडिकल व्यवसायी प्रसाईंले बिहीबारदेखि काठमाडौंमा जारी प्रदर्शन कायम रहने बताउँदै आएका छन्। भक्तपुरको ठिमीस्थित निवासमा शुक्रबार बिहान पत्रकारहरूसँग आफ्नो आन्दोलन नरोकिने पुन दोहोर्याएका थिए।
प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा कार्यक्रम गर्ने उद्घोष गरेपछि प्रसाईंले आफूलाई सरकारले आज ‘नजरबन्द’मा राखेको आरोप लगाए।
अहिले भक्तपुरस्थित उनको निवास वरपर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको छ।
Leave a Reply