Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो

    प्रधानमन्त्री प्रचण्डले भने – कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 924
    SHARES

    सोलुखुम्बु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन्।

    नेपाल पर्वातरोहण सङ्घले आज सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कोप २८ मा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘हामीले गर्दै नगरेको कामको मूल्य चुकाउन सक्दैनौँ, जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले हाम्रो अधिकारका रुपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्छ । कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने होइन, हामीलाई हाम्रो अधिकार चाहियो भन्ने हो।’

    प्रधानमन्त्री प्रचण्डले यसलाई मागका रुपमा नभई अधिकारकै रुपमा राख्ने तयारी गरिएको जानकारी दिए। यही १४ देखि २६ गतेसम्म युएईको दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ।

    प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा राष्ट्रिय अनुकूलन योजनाको विस्तृत रुप, राष्ट्रिय निर्धारित योगदानमा आधारित कार्यान्वयन योजना र कोप–२८ को एजेण्डाका बारेमा छलफल हुनेछ ।

    नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्री प्रचण्डले कोप–२८ सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर कम गर्न छ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव गरिएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार