काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको १२ दिन लामो भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् ।
अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएका थिए ।
भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गरेका थिए ।
अध्यक्ष लिङ्देनले अमेरिकाको टेक्सस, ईन्डियाना, ओहायो, वाशिडंटन डिसी, न्यूयोर्क,बाल्टिमोर लगायतका मुख्य सहरहरूमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरूसँग भेटघाट र साक्षात्कार गरेका थिए ।
आफ्नो छोटो अमेरिका भ्रमण अत्यन्तै उत्साहजनक र फलदायी रहेको अध्यक्ष लिङ्देनले प्रतिक्रिया दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष लिङ्देनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालेका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूले स्वागत गरेका थिए ।
Leave a Reply