काठमाडौं । प्रहरीको गोली प्रहारबाट लागूऔषध कारोबारमा संलग्न भारतीय नागरिक मोहमद करिम घाइते भएका छन् ।
अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना पाएर गोठाटार पुगेको प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएको हो । करिमको दाहिने गोडामा गोली लागेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-, गोठाटारमा बुधबार दिउँसो गोली चलेको थियो ।
गोप्य सूचना पाएर खटिएको विशेष अनुसन्धान टोलीले लागूऔषध कारोबारीहरुलाई पछ्याएकोमा उनीहरुले प्रहरीलाई लक्षित गरी पेस्तोल निकालेर गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो ।
प्रहरीले करिमसहित झापाको कचनकवल-७ का हर्कबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक जना पेस्तोल, गोली ३ थान र ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब दुई सय ग्राम, डिजिटल तराजु एक थान र नगद ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये हर्कबहादुर भने यसअघि ०७४ को चैतमा मानव बेचविखन मुद्धामा कारबाही भई पाँच वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन् ।
गोली लागेर घाइते भएका भारतीय नागरिक करिमको मदरल्याण्ड अस्पताल पेप्सिकोलामा प्रहरी नियन्त्रणमै उपचार भइरहेको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply