लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लागेका हुन् । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।
हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटेल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।
महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ । मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान काठमाडौंबाट आउने कार्यक्रम छ ।
महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नेछन् । लुम्बिनीमा डेढ घण्टा बिताएपछि उनी आज नै काठमाडौं फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए ।
महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
महासचिवको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । रासस
Leave a Reply