Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    गोरखाबाट हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 480
    SHARES

    गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।

    फूलपातीको डोली बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।



    गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको उनले बताए।



    गोरखा दरबारको दसैँघरबाट फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको हो । दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्याली निकाली गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए ।

    गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाइ गरेर पठाएका हुन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार