Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगे छेन्दु

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुगे छेन्दु

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 702
    SHARES

    काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन्।

    छेन्दुस्थित थियान्फु अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे।



    उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओ हङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।



    उनी छेन्दुस्थित थियान्फू अन्तरराष्ट्रिय विमानस्थलबाट केहीबेरमा चीनको बेइजिङ प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिआरएफ)’ मा सहभागी हुनेछन्।

    उनले यही असोज ३० र आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ।

    भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङबीच द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ।

    वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा स्टेट काउन्सिलर हुन्। भ्रमणका सिलसिलामा उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

    ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो। बिआरआई सम्पर्क सञ्जाल, पूर्वीय सभ्यताको विकास, देशबीचको सहयोग एवम् भाइचारा र पर्यावरणलगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तरराष्ट्रिय परियोजनाका रुपमा रहेको छ।

    चीनले सन् २०१७ मा पहिलो र सन् २०१९ मा यस्तो सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षको सहभागिता हुने बताइएको छ।

    उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत सहभागी छन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार