काठमाडौं । तुलनात्मक रूपमा कम राजनीतिक हस्तक्षेप हुने नेपाली सेनामा प्रधान सेनापति चयन अन्य सुरक्षा निकायमा जस्तो भद्रगोल हुँदैन । सामान्यतया एक वर्षअघि नै भावी प्रधान सेनापतिको तय हुने परम्परा छ ।
हालका प्रधानसेनापति प्रभुराम शर्माको पदावधि अब करिब १० महिना मात्र बाँकी छ । अर्को वर्ष १५ भदौमा सैनिक नेतृत्व परिवर्तन हुँदैछ । तर, यो वर्ष भने भावी प्रधानसेनापति अझै तय हुन भइसकेको छैन ।
स्रोतका अनुसार आगामी दुई साताभित्र भावी प्रधानसेनापतिबारे निर्णय हुँदैछ । प्रधान सेनापतिपछि दोस्रो उच्च पदमा रहेका बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकदेखि अवकाश पाउँदै छन् । उनको पदावधि थप हुने कि नहुने भन्ने विषयले नयाँ सैनिक नेतृत्व तय गर्नेछ ।
सैनिक स्रोतका अनुसार राणा आइतबारदेखि बिदामा बसेकाले उनको पदावधि थपिने सम्भावना देखिएको छैन । उनको अवकाशसँगै सेनामा एक उपरथी रथीमा बढुवा हुनेछन् । बढुवा हुने सैनिक अधिकारी नै आगामी भदौदेखि प्रधान सेनापति हुनेछन् ।
यसरी प्रधान सेनापतिको लाइनमा रहेका प्रमुख दाबेदार उपरथी ताराध्वज पाण्डे हुन् । उनी हालका उपरथीमध्ये सिनियर हुन् । उनीसँगै दोस्रो वरीयतामा अशोक सिग्देल पनि छन् । बढुवामा दुईबीच प्रतिस्पर्धा छ । यद्यपि सेनामा सामान्यतया वरीयता नमिच्ने परम्परा भएकाले पाण्डे नै भावी प्रधान सेनापति हुने सम्भावना रहेको एक उच्च सैनिक अधिकारी बताउँछन् । यद्यपि उपरथी सिग्देलले पनि बढुवाका लागि प्रयास गरिरहेको स्रोत बताउँछ ।
हालै माओवादीका पूर्वलडाकु सहायक रथी यामबहादुर अधिकारीलाई भावी प्रधान सेनापतिमा अघि बढाउन खोजिएको विषयले सेना तरंगित बनेको छ । यद्यपि त्यसको लागि सेनाभित्र कुनै पनि तयारी नभएको स्रोत बताउँछ । अधिकारी प्रधान सेनापति बन्ने कुनै सम्भावना समेत नभएको सैनिक अधिकारी बताउँछन् ।
हालै सरकारले उनको पदावधि थप गरिएको विषयमा यस्तो हल्ला चलेको थियो । तर, अहिलेको सैनिक ऐन र नियमावलीले पनि उनको सहायक रथीबाट माथि जाने सम्भावना छैन । किनकी विशेष दरबन्दी बनाएर उनलाई सहायक रथी बनाइएको थियो । उनको सोमबार वन निर्देशनालयमा पदस्थापन भएको छ ।
Leave a Reply