Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठले भने – देशको समृद्धिका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ

    गृहमन्त्री श्रेष्ठले भने – देशको समृद्धिका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 744
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन् ।

    ६८औं प्रहरी दिवसको अवसरमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्णअनुभूति गर्न सकिने बताए ।



    गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्व लगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाँती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीहरुको समर्पणभाव हरेक पुस्ता र पिंढीका लागि प्रेरणाको स्रोतको रूपमा रहने उल्लेख गरे ।

    गृहमन्त्री श्रेष्ठले नयाँ प्रविधिको कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरूद्ध तदारूकता बढाउँदै वर्तमान र भविष्यमा हुने सक्ने अपराधहरूको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयार रहनुपर्ने उल्लेख गरे ।

    गृहमन्त्री श्रेष्ठले भने, ‘प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन र कुनै स्वार्थ तथा शक्तिको प्रभाव वा दबाबमा नपरी निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।’

    नेपाल प्रहरीको निःस्वार्थ सेवा र अटल समर्पण भावलाई अँगाल्दै देश र नागरिक सुरक्षाका क्रममा शहादत प्राप्त अमर प्रहरीका परिवारजनको पीडाका क्षणमा नेपाल सरकार सदैव साथमा रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

    कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

    साथै गृहमन्त्री श्रेष्ठले प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरे ।

    समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकमैत्री प्रहरीको रूपमा सांगठनिक छवि उजागरमा केन्द्रित रहन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार