विराटनगर। युवतीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ,२० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ ।
तीनैजना मिलेर २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ । घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए ।
खाना खाएर फर्किने क्रममा सफारीमा यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
Leave a Reply