काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
प्रदेशको मुख्यमन्त्री नियुक्त भएकै दिन काठमाडौं आइपुगेका कार्कीले आज एमालेअध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
शनिवार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका कार्की त्यसपछि ओली निवास बालकोट पुगेका थिए ।
नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ (५ )अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।
कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।
कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् ।
मन्त्रीले पनि आजै शपथ लिनेछन् । कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।
Leave a Reply