काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा उद्धव थापा नै कोशीको मुख्यमन्त्री बनाउने बताएका छन्।
मुख्यमन्त्री आफूलाई बनाउन प्रस्ताव लिएर आएका कांग्रेस कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिएका हुन् ।
सभापति देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हो भनेका छन् भने अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताएका थिए ।अहिले कोशी प्रदेशसभामा उद्धव थापा कांग्रेसको संसदीय दलको नेता छन् ।
आफूलाई कोशीको मुख्यमन्त्री बनाउन आग्रह गर्दा पराजुलीलाई कांग्रेसका सभापति देउवाले दलको नेता नै मुख्यमन्त्री हुने जवाफ फर्काएका थिए । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।
त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।
अब सरकार बनाउन अब कोशीमा अन्तिम विकल्पको रुपमा संविधानको धारा १६८ (५) छ । यसअन्तर्गत सरकार बनाउन अहिले नेताहरूको दौडधुप चलिरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समयसीमा शुक्रवार सकिँदै छ ।