काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेको नेपालगञ्ज घटनालाई लिएर आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न अपिल गरेका छन् ।
एक विज्ञप्तिमार्फत् सभापति देउवाले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्न आह्वान गरेका हुन्।
सभापति देउवाले भनेका छन्,’ नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक हो । परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावका साथ एकताबद्ध भई मिलेर बसेका छौं र राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौं । धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका गतिविधि नगर्नन हार्दिक आह्वान गर्दछौं । यसको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’
उनले सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं समग्र सद्भावका लागि अपिलसमेत गरेका छन्। नेपालगञ्जमा हिन्दु र मुश्लिम समुदायबीच तनाव उत्पन्न भएपछि मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।
Leave a Reply