Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खानेपानी बनाउन पठाएको रकममा भ्रष्टाचार, अख्तियारले हाल्यो उपाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरेको भन्दै उपाध्यक्ष रिता घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन उपाध्यक्ष घर्ती,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव, योजना अधिकृत कृष्ण बहादुर घर्ती,तत्कालीन इन्जिनियर नविन डाँगी, सवइन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाई टेक्निसियन बल बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै, सोलार पम्पिङ खानेपानी निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष मन बहादुर डाँगी, सचिव खडक बहादुर डाँगी,कोषाध्यक्ष चन्द्र कुमारी डाँगी,वडा नं २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई,वडा सदस्य टिका विक, वडा सदस्य गन बहादुर भण्डारी र वडा सचिव कुल बहादुर योगीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूले आर्थिक वर्ष २०७६/०७७ मा गंगादेवी गाउँपालिका–२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी योजना निर्माण गर्दा अनियमितता गरेको थियो ।

चार लाख ६६ हजार ४८८ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा अख्तियारले प्रत्येकसँग चार लाख ६६ हजार ४८८ रुपैयाँ बिगो दाबी गरेको छ ।

आयोगले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा १ को 'ग' र 'ङ' बमोजिमको कैद र बिगो जरिवानामा माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077