Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपति विकास कोषका तत्कालिन सदस्य सचिव ढकाल र कोषाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड १७ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव, तत्कालिन कोषाध्यक्ष र स्टोरकिपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको भन्दै अख्तियारले कोषका तत्कालिन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

प्रदीप ढकाल र मिलनकुमार थापाले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सो नगरेको अख्तियारले जनाएको छ।

स्टोरकिपर श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले स्टोरकिपर पदमा कार्यरत रही कोषको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारीविपरीत जलहरीका लागि प्रयोग गरेको सुन हिनामिना गरेको अख्तियारले जनाएको छ।

उनीहरुलाई जनही सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो मागदावी गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए। अख्तियारका प्रवक्ता दाहालका अनुसार पुशपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणका क्रममा १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको छ ।

पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो । कुल १ किलो ५ सय ६५ ग्राम सुनको परिमाण फरक परेकोमा राष्ट्र बैंकको मापदण्डअनुसार ०.०७२ प्रतिशतले हुन आउने जर्ती कटाएर बाँकी सुन हिनामिना गरेको पाइएको प्रवक्ता दाहालले बताए ।

बदनियतपूर्वक सुनको जलहरी निर्माणका क्रममा हानीनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो दाबी गरिएको हो ।

सो दिनको प्रतिग्राम मूल्य ७८४४.५० रुपैयाँका दरले १४९१.७१८ ग्राम सुनको पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियारले निकालेको हो । शुरूमा हिनामिना गरिसकेपछि माइन्युट सच्याएर बाँकी सुनको रिङ लगाएको भनी उल्लेख गरिएको समेत प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077