Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्घटनामा निधन भएका बाबु छोराको एउटै चितामा अन्त्येष्टि

दाङ । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताए ।

दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो ।

दुवैजनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जिप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा बिक्री गर्दै आएका थिए ।

उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताए । “उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो,” वडाध्यक्ष वलीले भने, “रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।”

रा१च १०२५ नम्बरको जिप साढे ३०० मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077