Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यालय भवन निर्माणमा ६ लाख बढी भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी,लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी,उपभोक्ता समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेका थिए। माविको अनियमितता भएको भन्ने सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियारले जनता माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानबाट खुलेको प्रवक्ता दाहालले बताए ।

अख्तियारका अनुसार उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको छ । अख्तियारले मरासेनी र चौधरीलाई ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो कायमगरी असुल उपर हुन मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077