काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।
समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले एमालेलाई खुसी पार्न कांग्रेसलाई शत्रु भन्नुको अर्थ नरहेको बताए ।
अध्यक्ष नेपालले विचार मिल्नेहरू समाजवादी मोर्चामा आबद्ध हुन सक्ने तर आफ्नो पार्टीको नामै सुन्न नचाहनेसँग एकताको सम्भावना छ कि भनेर नसोध्ने बताए ।
अध्यक्ष नेपालले भने,’अहिले गठबन्धनको सरकारमा छौं र सरकारलाई छोड्ने कुरा कसैले गर्छ भने त्यो हाम्रो पार्टीलाई सिध्याउने कुरा हो । कंग्रेसलाई शत्रु बनाएर, बिच्क्याएर अनि अरु कसैलाई खुसी पार्न खोज्या छ भने यो हाम्रो सिंगो अभियानलाई धरासायी पार्न खोजेको मात्रै हो । अहिले नै कुनै अर्को पार्टीसँग एकताको सम्भावना छैन । सोच्दै नसोचेको, कल्पना नै नगरेको, अनुहारै देख्न नचाहने, हाम्रो पार्टीको नामै सुन्न नचाहने, नाम सुन्यो कि कान फाट्छ कि भनेर डराएर कानै बन्द गर्ने प्रवृत्ति बोकिरहेकासँग एकताको सम्भावना छ कि भनेर गीत गाएर हिँड्नुको अर्थ छैन ।’
समाजवादीले सकारात्मक पक्षलाई एकताबद्ध बनाउन खोजेका अध्यक्ष नेपालको भनाई छ । उनले समाजवादी मोर्चामा सामेल हुन चाहनेहरू एक ठाउँमा आउन सक्ने बताए । एमालेको संस्थाप नेता आफू भएको बताउँदै नेपालले पछिल्लो समय भने त्यहाँबाट खेदिएको बताए ।
Leave a Reply